विद्यालयभित्रै जोखिमपूर्ण विद्युत संरचना, पटक–पटक आग्रह गर्दा पनि विद्युत प्राधिकरण मौन
सिरहा- १३ असार । औरही गाउँपालिका–५ स्थित श्री सुन्दर जनता माध्यमिक विद्यालयले विद्यालय परिसरभित्र रहेको अव्यवस्थित विद्युत खम्बा र जमिनतर्फ लत्रिएको विद्युत तार तत्काल व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरण, सिरहा शाखालाई पटक–पटक लिखित अनुरोध गर्दा पनि हालसम्म कुनै सुनुवाइ नभएको जनाएको छ।
विद्यालयका अनुसार परिसरको बीचभागमा रहेको विद्युत खम्बा र त्यसबाट झुन्डिएको तारका कारण दैनिक अध्ययनका लागि आउने सयौं विद्यार्थी, शिक्षक तथा कर्मचारी उच्च जोखिममा परेका छन्। विशेषगरी खेल्ने, हिँडडुल गर्ने तथा विद्यालय गतिविधिमा सहभागी हुने क्रममा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने अवस्था रहेको विद्यालयको भनाइ छ।
विद्यालयले मिति २०८३ जेष्ठ १३ गते नेपाल विद्युत प्राधिकरण, सिरहा शाखालाई औपचारिक पत्राचार गर्दै तत्काल स्थलगत निरीक्षण गरी जोखिमपूर्ण संरचना व्यवस्थापन गर्न अनुरोध गरेको थियो। उक्त पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र औरही गाउँपालिकालाई समेत पठाइएको छ। तर, सम्बन्धित निकायले हालसम्म कुनै प्रभावकारी कदम नचालेको विद्यालयले जनाएको छ।
विद्यालय प्रशासनले समयमै आवश्यक व्यवस्थापन नगरी कुनै मानवीय वा भौतिक क्षति भए त्यसको नैतिक तथा कानुनी जिम्मेवारी सम्बन्धित निकायले वहन गर्नुपर्ने चेतावनीसमेत दिएको छ।
यस घटनाले सार्वजनिक निकायको जिम्मेवारी र संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। विद्यालयजस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो जोखिमप्रति नेपाल विद्युत प्राधिकरण, सिरहा शाखाले अझै बेवास्ता गर्नु दुःखद भएको स्थानीय अभिभावक तथा समुदायको गुनासो छ। उनीहरूले सम्भावित दुर्घटना हुनुअघि नै तत्काल विद्युत खम्बा र तार व्यवस्थित गरी विद्यार्थीको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

