हुलाकी सडक निर्माणको मागलाई साहित्यिक आवाज: बरियारपट्टीमा राष्ट्रिय बहुभाषिक कवि सम्मेलन सम्पन्न
बरियारपट्टी, सिरहा, साउन २ गते।
मधेशको मेरुदण्ड तथा जीवन रेखाको रूपमा चिनिने हुलाकी सडक र बर्षाै देखि ओझेलमा रहेको कमला पुलको शीघ्र निर्माण तथा स्तरोन्नतिको मागलाई सशक्त रूपमा उठाउँदै सिरहाको बरियारपट्टीमा हुलाकी बहुभाषिक राष्ट्रिय कवि सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। हुलाकी सडक संघर्ष समिति, सिरहाको आयोजनामा सम्पन्न एकदिवसीय कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका सयौं कविहरूले कविता मार्फत हुलाकी सडकको अवस्था, कमला पुल प्रति सरकारको विभेदकारी दृष्टिकोण मधेशको विकास, जनअपेक्षा तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गरेका थिए।
कार्यक्रमको अध्यक्षता बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले गरेका थिए भने कार्यक्रमको सञ्चालन बिमला कुमारी यादवले गरेकी थिइन्। कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्दै स्वागत मन्तव्य बरियारपट्टी गाउँपालिका वडा नं.-३ का अध्यक्ष बिनोद कुमार यादवले गरेका थिए। कार्यक्रम संयोजक राम रिझन यादवले हुलाकी सडक मधेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको आधार भएकाले यसको निर्माणमा ढिलाइ हुन नहुने बताए। सरकारको दृष्टिकोण हुलाकी राजमार्ग र कमला पुल निर्माण प्रति विभेदकारी रहेको समेत बताए।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा मधेश प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री माननीय संजय कुमार यादव, प्रदेशसभा सदस्य माननीय जिबछी देवी यादव, माननीय जितेन्द्र चौधरी, प्रदेशसभा सदस्य माननीय संजिला कुमारी यादव तथा प्रदेशसभा सदस्य माननीय ललित विद्रोही तत्माको उपस्थिति रहेको थियो। अतिथिहरूले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएको उल्लेख गर्दै हुलाकी सडक निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
सम्मेलनमा झापा, विराटनगर, सुनसरी, सिरहा, सर्लाही, महोत्तरी, बारा, नेपालगञ्ज, जनकपुर लगायत देशका विभिन्न जिल्लाबाट आएका सयौं कविहरूको सहभागिता रहेको थियो। नेपाली, मैथिली, हिन्दी तथा अन्य भाषामा प्रस्तुत कविताहरूले हुलाकी सडकको वर्तमान अवस्था, मधेशको पीडा, विकासको आवश्यकता र जनआकांक्षालाई प्रभावकारी रूपमा साहित्यका माध्यम बाट सरकारलाई सचेत गराउदै आफना अभिव्यक्ति व्यक्त गरेका थिए।
आयोजक हुलाकी सडक संघर्ष समिति, सिरहाले साहित्य र जनआन्दोलनलाई एकै मञ्चमा जोडेर हुलाकी सडक निर्माणको अभियानलाई थप सशक्त बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाएको छ। कार्यक्रममा सहभागीहरूले हुलाकी सडक र कमला पुलको शीघ्र निर्माण सम्पन्न गरी मधेशको समग्र विकास सुनिश्चित गर्न सरकारसँग साहित्यिक अभिव्यक्त मार्फत जोडदार माग गरेका थिए।

